मुटु भन्दा प्यारो लाग्छ, मेरो देशको माटो

Posted on December 6, 2023
Songs

मुटु भन्दा प्यारो लाग्छ मेरो देशको माटो

यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो ।

 

मेरै पुर्खा मिलिजुली बनाएको घर हो

दाजुभाइ एकाघरका साझा यौटै थर हो ।

 

मेरै श्रमले सिन्चिएको सृजनाको माटो

यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो ।

 

हिमाल पहाड तराईका सबै बान्की मेरा

विविधता सजिएको चारकिल्लाको घेरा ।

 

सबै मिलि बनाउनुछ स्वच्छ सुन्दर माटो

यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो ।

 

मेरै आफ्नो सभ्यता छ संस्कृति छ मेरै

राष्ट्र भाव नजागेमा कुल्चि हिंडथे धेरै ।

 

सुन्दर शान्त बनाउने खोज्दैछु म बाटो

यै माटोमा कोरिएको छ मोक्ष खोज्ने बाटो ।

 

मुटु भन्दा प्यारो लाग्छ मेरो देशको माटो

यै माटोमा कोरिएको मोक्ष खोज्ने बाटो ।

 

कैलासकुमार पाण्डेय, परशुराम १२ डडेल्धुरा

Search
Categories